Monday, 22 October 2012
सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ
यो एउटा बिन्दास युवतीको कथा हो। सहरका धेरै विन्दास युवतीहरूबीच एउटी प्रतिनिधि पात्र हुन्- साहाना बज्राचार्य। मिस नेपाल-२०११ की फस्ट रनर्सअप सहानाको सार्वजनिक चिनारी टेलिभिजन एंकर र मोडल हो। यसो भन्दा उनको परिचय खुम्चन सक्छ। उनी रात-विरात काठमाडौंका गल्लीमा अचानक भेटिन सक्छिन्। मुड आयो भने अचानक घर छाडेर कुनै गाउँको यात्रामा निस्कन सक्छिन्। फोटोग्राफी, चित्रकला र सिनेमाका कुरा निस्कँदा उनले नजानेको कुरा छैन झैं लाग्छ। कतिसम्म भने सहानाका विषयमा सहरमा धेरै किसिमका किस्सा सुन्न पाइन्छन्। दसैं आयो कस्तो लागिरहेको छ ? एक्साइटेड छु। किन ? अछाम जाँदैछु। अछामी दिदी-बहिनीहरूसँग रमाइलो गर्ने मुड बनाएकी छु। मानिसहरू आफन्त भेट्न घर र्फकन्छन्, तपाईंचाहिँ घर छाडेर विकट पहाड उक्लँदै हुनुहुन्छ, अचम्म होइन ? मेरो विशेषता नै त्यस्तै छ। मानिसहरू परिवारभित्र खुसी देख्छन्, म बाहिर पनि खुसी भेट्न सक्छु। दसैं मान्न अछाम जिल्ला नै किन रोज्नुभयो ? छाउपडी प्रथाको विषयमा अछाममा २० दिन लगाएर डकुमेन्ट्री बनाएकी थिएँ। दसैंमा सबै जम्मा हुन्छन्, त्यही बेला यो डकुमेन्ट्री देखाऊँ, विद्यालयका खाली पुस्तकालयमा केही पुस्तक भरिदिऊँ भन्ने लागेर त्यता जान लागेकी हुँ। २० दिन धेरै हो, बीचमै मिन्स हुनुभयो भने के गर्नुहुन्छ ? म पनि छाउपडी गोठमै बस्छु। अरूको ठाउँमा गएर त्यहाँ नियम मान्दिनँ भन्न पाइन्छ ? तपाईं सहरकी सुन्दरी, गोठमा खुम्चनुपर्दा गाह्रो हुँदैन ? अब त बानी परिसक्यो। ६ महिनाअघि डकुमेन्ट्री बनाउन जाँदा पनि म मिन्स भएकी थिएँ। त्यो बेला म गोठमै बसें। यसो गर्दा गाउँका महिलालाई कति समस्या छ भन्ने आफैंलाई अनभूति हुन्छ। यसो गर्नु नयाँ एक्सपेरिएन्स पनि हो। छाउपडी बस्दाको सबैभन्दा अचम्मको अनुभव के रह्यो ? रातभरि निदाउन सकिनँ। राम्रोसँग बस्न पनि नसकिने सानो कोठामा कसरी निदाउने ? कसैले अनिच्छापूर्वक जबरजस्ती गरिदिने हो कि भन्ने पीर लागिरह्यो। बिहान ट्वाइलेट लाग्यो, तर घरको बाथरुम छिर्न नपाइने। पानी बोकेर जंगल जानुपर्ने। जन्मदै बाथरुम प्रयोग गर्ने बानी परेकी मलाई हामी नेपाली कुन युगमा बाँचिरहेका छौं भन्ने लाग्यो। घरमा चाहिँ तपाईं मिन्स बार्नु हुन्न, यो दोहोरो चरित्र भएन ? गाउँमा सहरको जस्तो व्यवहार गर्यो भने अर्को पटकदेखि त्यहाँ जाने बाटो बन्द हुन्छ। फेरि त्यस्तो अनुभव लाखौं रुपैयाँ तिरेर पनि पाइँदैन भने किन नियम नमान्ने ? म अलिक त्यस्तै छु क्या ! घरभित्र मिन्स नबार्ने तपाईंको नियमका पछाडि कुनै कारण छन् ? महिलाहरू मिन्स नहुने हो भने संसार नै अवरुद्ध हुन्छ। उनीहरू मिन्स हुन्छन् र नै मानिसहरू जन्मन्छन्। यो त गर्वको विषय हो। अरू महिला मिन्स भएको बेला पूजाकोठामा छिर्दैनन्। म भने मिन्स भएका बेला भगवान्लाई धन्यवाद दिन मन्दिर जान्छु र पूजा गर्छु। हामी अछाममा छाउपडी प्रथा रै छ हगि भनेर कुरा काट्छौं, तर हामी पढेलेखेका भनिनेहरू पनि चार दिन त त्यही गरिरहेका छौं। यसरी पहिलेदेखि नै मिन्स बार्नुको कारण पनि होला नि ? शरीरबाट रगत निस्कने कारणले स्वास्थ्यका हिसाबले यो चलन सुरु भएको हुन सक्छ। यही कारणले चार दिनसम्म महिला अछूत भए भन्ने कुराको मैले विरोध गरेकी हुँ। नुहाइधुवाइ गरेर सेनेटरी प्याड लगाएपछि केको मिन्स ? मैले सुनेअनुसार तपाईंमा केटाको स्वभाव बढी छ रे ? यो केटाको स्वभाव भनेको के हो ? मेरो विचारमा यो केटी भएर यसो गर्नु हुन्न, उसो गर्नु हुन्न भनेर उनीहरूलाई हीनताबोध गराउने प्रपञ्च मात्र हो। म केटाहरूसँग गुच्चा खेल्थें, चङ्गा उडाउँथे। ब्वाइज केश पालेकी थिएँ। मैले कहिल्यै ‘केटीले गर्नुपर्ने’ नियम मानिनँ, त्यसैले केटाको जस्तो स्वभाव भनेका होलान्। कतिपय युवती केटाजस्तो बन्ने धुनमा रक्सी-चुरोट पिउँछन् र जुवाघर जान्छन्, युवतीले पनि त्यस्तै गर्नु स्वतन्त्रता हो ? टेस्ट त गर्नुपर्यो नि, अनि पो थाहा हुन्छ- त्यो गलत हो कि सही हो। अरुले भनेकै भरमा त्यो ठीक हो कि गलत भनेर कसरी विश्वास गर्ने ? सत्य त आफैंले पो थाहा पाउनुपर्छ। भनेपछि रक्सी-चुरोट तपाईंका लागि ठूलो कुरा होइन ? जुन दिन मैले सिगार तानें, त्यो दिन मैले आमालाई आज सिगार तारेर आएँ भनेर सुनाएँ। मैले त्यो गलत हो भन्ने फिल गरेकी भए भन्न सक्दिनँथेँ। मलाई सिगार तान्नु ठीक लागेन र छोडिदिएँ। वाइनचाहिँ पिउँछु। त्यसो भए वाइन पिउनु स्वास्थ्यका लागि ठीक हो भन्न खोज्नु भएको ? हामीमध्ये कतिपय यस्ता छौ, जो फलफूलको रसमा अलिकति स्कच मिसाइ दिनुहोस् र यो वाइन हो भन्नुस्, पत्याएर पिउँछन्। कुन चीज के हो र त्यो कसरी पिउने भन्ने कुरा थाहा नपाउनेहरूलाई नै त्यसले धेरै असर गर्छ। म त्यो वर्गमा पर्दिनँ। पहिलो पटक रक्सीको स्वाद कहिले लिनुभयो ? बच्चैमा, नेवारको घरमा यो कुन ठूलो कुरा भयो र ? त्यो त परम्पराको कुरा हो, पहिलो पटक साँच्चैको रक्सी पिएको दिन कुन हो भनेर सोधेको। ए, म सेभेनमा पढ्थें। आमाले नै एक गिलास बियर ल्याएर दिनुभयो। मज्जाले सुइँक्याइदिएँ। अहिले पनि म मात्नका लागि रक्सी पिउँदिनँ। तपाईंको व्यवहार केटाको जस्तै भएका कारण ब्वाइफ्रेन्ड पनि टिक्तैनन् रे हो ? यो चाहिँ हावा कुरा हो। म राम्री छु र बाई द वे बताइहालू, म लेस्बियन होइन। मेरो ब्याइफ्रेन्ड छ। जसरी केटाहरू सेक्सलाई सामान्य रूपमा लिन्छन्, तपाईं लिनुहुन्छ ? सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ। सेक्सलाई तपाईंले पिउने वाइनजस्तै नियमित मान्नुहुन्छ कि सिगारजस्तै टेस्ट लिइहालूँ भन्ने रूपमा लिनुहुन्छ ? अहो, तपाईं त निकै पर्सनल हुन खोज्नुभयो। के भन्ने ? ल यतिचाहिँ भनिहाल्छु, मलाई राम्रोसँग थाहा हुन्छ, म के गर्दैछु ? तपाईं परम्परागत नेवारी समाजमा हुर्किएकी केटी, यसरी नियम तोड्दा अभिभावकहरूले केही भन्नुहुन्न ? मेरो हजुरबुबा (आमाको बुबा) हेमब्रज बज्राचार्य, उहाँलाई बुद्धले सिकाएका सबै ज्ञान कण्ठ थियो। म उहाँकै संगतमा हुर्किएँ। उहाँ भन्नुहुन्थ्यो, तिमी अरुले बनाएको नियममा हिँड्ने होइन, आफ्नो नियम आफै बनाउने प्रयास गर। अरूको विश्वास जित। उहाँको छवि पनि त्यस्तै थियो। मेरो जीवनमा उहाँको छाप पर्यो। मैले जे गरें वा गर्दै जानेछु, अभिभावकले त्यसलाई गलत रुपमा लिनुहुन्न। त्यसका लागि प्रयास पनि ठूलै गर्नुपर्यो नि, परेन र ? पर्यो। एसएलसीपछि अरू साथीहरू ब्रिज कोर्स गर्न थाले, म विभिन्न संस्थामा स्वयंसेवकका रूपमा काम गर्न थाले। १८ वर्षको उमेरमा म अरूलाई तालिम दिन तयार पारिएको सर्टिफिकेटमा हस्ताक्षर गर्न थालिसकेकी थिएँ। १९ वर्षको उमेरमा मिस नेपालमा भाग लिन गएँ। पहिले मेरा लागि ४ बजे नै घर र्फकनुपर्ने नियम बनाइएको थियो, पछि त्यो नियम तोड्दै गएँ। केही महिनापछि ६ बजे घर जान थाले। एक वर्षपछि ८ बजेसम्म बाहिरै हुन्थें। पछि गएर रातको १२ बजाउन थालें। अहिले २ बजेतिर घर पुग्छु वा त्यो बेला घरबाट निस्कन्छु। रात-विरात सुनसान सडकमा निस्कँदा डर लाग्दैन ? जसले जीवन बुझेको छैन, उसलाई डर लाग्छ। डर मलाई देखेर डराउँछ।
सहरमा राति हुँदी के गर्नुहुन्छ ? मानिसहरूलाई लाग्छ, म कतै डिस्को जान्छु वा कुनै पुरुषसँग घुम्छु। मेरो सेक्रेट के भने म रातभरि सहरमा फोटोग्राफी गरिरहेकी हुन्छु। मलाई सुनसान रात मनपर्छ। आकाशको जून हेर्छु, टिलपिल तारा हेर्दै आनन्द लिन्छु। यो संसार कति रमाइलो छ भन्दै खुसी हुन्छु। तपाईंले बिहानीको सुन्दरता कहिल्यै देख्नुभएको छैन हो ? एकपल्ट देखेकी छु। साथीहरू भन्थे, बिहान ५ बजे उठेर हेर, काठमाडौं धेरै सुन्दर देखिन्छ। मलाई लाग्यो, बिहानीको काठमाडौं धेरैले हेरेका छन्, म रातको दुई बजे सडकका सुनसान गल्ली किन नहेरूँ ? फेरि सोचें, बिहानीको काठमाडौं पनि हेरिहालूँ, अनि एकपटक पाँचै बजे उठेर हेरें। कस्तो लाग्यो ? धेरै राम्रो। यति राम्रो कि मनमा केही भाव आयो। त्यो फेसबुकमा पनि पोस्ट गरिदिएँ। चाहनुभयो भने तपाईं पनि मेरो फ्यानपेजमा गएर हेर्न सक्नुहुन्छ। तपाईं घुमक्कड पनि हो, नेपाल घुम्दा तपाईंको दृष्टिकोण के हुन्छ ? एउटा उदारण दिएर सम्झाउँछु। मानिसहरू पोखरा जाँदा लेकसाइड जान्छन्, म गुरुङ बस्तीतिर पस्छु। नेपालमा यति धेरै विविधता छ, त्यो बुझ्ने प्रयास गर्नु नै मेरा लागि ट्रिप हो। तपाईंले नेपाली जीवनसँग सम्बन्धित हजारौं फोटोग्राफी गर्नुभएको छ, तर ती तस्बिर बाहिर आएका छैनन्, किन ? ती मेरो खुसीका लागि खिचिएका तस्बिर हुन्। सबै खुसी बाँड्नैपर्छ भन्ने के छ र ? तपाईंलाई सुन्दा यस्तो लाग्छ, तपाईंलाई कुनै चिन्ता छैन, साँच्चै हो कि मलाई त्यस्तो लागेको हो ? महिला भएपछि अलिकति प्रेसर त भैहाल्छ। टेलिभिजनले एउटा कार्यक्रम देखाइरहेको थियो, चलचित्रसम्बन्धी। एउटी महिला निर्देशकलाई कुनै पुरुषले प्रश्न गरे, यत्रो वर्ष तपाईं कहाँ हराउनुभयो ? ती निर्देशकले छक्क पर्दै जवाफ दिइन्, ‘यदि तपाईं महिला भएको भए यो प्रश्न गर्नुहुन्थेन।’ प्रश्न गर्नेले बुझे कि बुझेनन्, तर ती महिला निर्देशकको उत्तर मैले बुझें। महिलाहरू शिशु जन्माउन चाहन्छन्। त्यो चाहनाका कारण उनीहरूले करियर दाउमा लगाउनुपर्छ। मलाई पनि त्यस्तै प्रेसर हुन्छ। बल्ल त सार्वजनिक जीवन सुरु हुँदैछ, फेरि अर्को जीवन सुरु गर्नुपर्छ र शिशु जन्माउनुपर्छ। विवाह नगर्दै शिशुको चिन्ता किन ? किनभने नेपालमा शिशु एडप्ट गर्न पाइने नियम छैन। मलाई शिशु मन पर्छ, तर नेपालीले नै धर्मपुत्र पाल्न नदिन कडा नियम बनाइएको छ। यदि मिल्थ्यो भने एक वर्षअघि नै शिशु एडप्ड गरिसकेकी हुन्थें। शिशु एडप्ट गर्न मिल्यो भने विवाह पनि गर्नुहुन्न, शिशु पनि जन्माउनु हुन्न हो ? विवाह त गर्छु होला, तर शिशुचाहिँ जन्माउन चाहन्नँ। कुरा सुनेर मलाई तपाईं फरक युवती लाग्नुभयो। यो बिन्दास जीवनमा तपाईंलाई ब्रेक लगाउने तत्त्व कुन हो ? नेपालको राजनीति। किन ? त्यो पनि भनिरहनुपर्छ र ? तैपनि तपाईंकै शब्द भन्नुपर्यो भने ? एकपल्ट म कुनै टिनएज रिलेटेड सुन्दरी प्रतियोगितामा गएकी थिएँ। सबैले परिचय दिने क्रममा आफ्नो नाम र थर भन्दै गएँ। त्यसमा म नेवार, म लिम्बू, म मधिसे भनेर फुर्को जोडें। हाम्रो आउँदो जेनरेसन जात र धर्मका कारण कति पोलुटेड भैसक्यो भनेर निकै चिन्ता लाग्यो। जमाना कहाँ पुगिसक्यो, हामीचाहिँ म नेवार, म लिम्बू, म हिन्दू वा बौद्ध भनेर घमन्ड गरिरहेका छौं। राजनीतिले हामीलाई हिंसावादी बनाएको छ। किनभने हाम्रा नेता नै त्यस्तै छन्। तपाईं आफूलाई बुद्धिस्ट मान्नुहुन्छ ? म बुद्ध धर्मावलम्बी हुँ। यदि तपाईंले दसैंलाई हिन्दूको धर्म भन्नुभयो भने म त्यसलाई गलत सावित गरिदिन्छु। म दसैंमा कुमारी घरमा टीका लगाउन जान्छु। तलेजु भवानीको मन्दिर जान्छु र आफन्तको घरमा ‘नक्ट्या’ मनाउँछु। अब दसैंलाई हिन्दूहरूको पर्व भन्ने हो भने त मेरो संस्कृति मरिहाल्यो नि।
Subscribe to:
Post Comments (Atom)
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment