शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकी थिई, नकुल ढोकाबाट बहिर
निक्लिदै थियो। तर शान्तालाई आफूले पढन नपाएकोमा साह्रै दुख लागेको थियो।
नकुललाई भने कत्ति पनि झन्झट लागेको थिएन। किनकि उसलाई अरुलाई सयोग गर्न
पाउदा आनन्द लाग्थ्यो। शान्ता नकुलकी गाउँले भाउजू थिई र साँच्चै नै सुशील र
स्वाभिमानी थिई।शान्तालाई देखेर नकुल भन्छ, "ए शान्ता भाउजू! दाइको चिट्ठी
आएछ। खै दिनुस् त तपाईंलाई सुन्न हतार मलाई पढन हतार।" शान्ता मनभरि
पीडालाई लुकाएर आफनो हात अघि बढाउँछे। अनि नकुल अशिमको चिट्ठी पढ्छ,
"पुजनीय मेरी आमालाई पाउ परी ढोग, र साथै मेरी प्यारी जीवनसँगीलाई अति
न्यानो मुटुभरिको चोखो माया। सबै मेरा मान्यजनहरूलाई धेरै धेरै सम्झना यो
परदेशीको तर्फबाट। अनि मेरो गाउँले भाइ नकुललाई पनि गर्वले भरिएको मिठो
माया।" आहा! कति मिठा शब्द। शब्दका भोकालाई त साँचै भोक नै मेटाउने। तर
शब्दले यहाँ भोकाको भोक र नाङ्गो आँग ढाकिंदैन थियो। घरबारी साहुको नाउँमा
बन्दकी राखेको थियो। घरमा मृत्यु कुरेर बसेकी बुढी आमा सधैं आँसुमा डुबेकी
थिइन्। तर आज पनी पैसा पठाउनेको कुरा चै लेख्न भुसुकै भुलेको थियो अशिमले।
शान्ता मनभरि उही पीडा र ब्याथा बोकेर नकुलको हातबाट चिट्ठी लिएर घरमा
आउँछे। सासूको "शान्ता! ए शान्ता!" को बोलाइलाई मसिनो स्वरमा उत्तर दिन्छे,
"हजुर।" "अनि के लेखेछ हँ अशिमले चिट्ठीमा?""सबै राम्रो नै छ रे।""पैसा
कहिले पठाउँछ रे त?"शान्ता आफ्नो पतिको आड लिन्छे, "आमा धेरै चिन्ता
नगर्नू के! एकैचोटि सबै ऋण चुक्ता हुने गरी पठाउनुहुन्छ रे।"
सासूको त मन केही पलको लागि भए पनि
शान्त बनाउँछे। तर आफ्नो भने रातभरि आँसुको भल। कहिले रित्तिदैनन् उसका यी
आँसु। हरे! छोरीको जन्म हारेको कर्म भनेर उखान त त्यत्तिकै बनाएको होइन
रहेछ बुढापाकाले। आज पनि यिनै नाना थरी कुरामा चार-प्रहर रातको मिरमिरे
प्रहर फाटेको थियो शान्ताको। बिहानको चिसो हावाले आँखा जोडन खोज्छे, तर
सासूको खोकीले ब्युँझाउँछ उसलाई।ऊ जुरुक्क बिछ्यौनाबाट उठेर भान्सतिर
लाग्छे। चुलो जोडेर तातो पानी बसाउँछे। केही बेरमा नुन चिया बनाएर
सासूछेउमा जान्छे। दुबै सासू-बुहारी चिया खान्छन, तर मनभरिको पीडा त बाँढेर
रित्तिंदैन र अरुलाई केही क्षणलाई ढाँटे पनि आफ्नो मन, आँफैसँग ढाँट्न
नमिल्ने। के गर्नु? चिया खाइसकेपछि शान्ता पत्कर टिप्न डोको बोकेर
हिड्छे।सासूको खोकी गाउँको निकै परसम्म एक तमासको सुनिन्छ। गाउँको
हेल्पोस्टबाट त कति औषधी बोकेर खुवाको हो। तर निको भएको भने होइन। टाढा
लैजाऊँ पैसाको अनिकाल। कसलाई सुनाउनु हात पसारेर माग्ने ठाउँ पनि बाँकी
थिएन। घरको दु:ख मुटुभरि बोकेर पैसा कमाउन परदेश लागेको पतिको पत्तो खबर
थिएन। कति कहाली लाग्दो जिन्दगी? कस्तो बेडम्बना? यो मनलाई बुझाउँने ठाउँ
नै छैन। के ऊ साँचै कठोर मनको धनी पुरुष हो त? साँचै मेरी आमाले भनेकी
थिइन्, "छोरा मान्छेको आँखाले देखे मात्र माया हुन्छ रे।" के यो साँच्चै हो
त? शान्ता मनभरि कुरा खेलाउँदै पत्करको भारी पुराउँछे। हुन पनि हो बिहा
अघि त शान्ताले न अशिमलाई देखेकी थिई न चिनेकी। बिहा गरेको २ महिना पनि
राम्रो बित्न नपाई अशिम परदेश लागेको आज एक बर्ष हुनलाई पन्ध्र दिन बाँकी
रहेछ। अब साहुको नाउमा राखेको घरबारी पनि उसैले खाने पर्यो। शान्ता आँखाका
बगेका आँसुका भेललाई पछ्यौराको फेरले पुछेर डोको बोकेर घरमा पुग्छे। उसको
घरमा नकुल पनि थियो। शान्ता आत्तिंदै नकुललाई सोध्छे, "बाबु तपाईं
यहाँ?""हो भाउजू। आमालाई जवरोले हन-हन भएछ। मसँग औषधी थियो पुर्याउन आएको। म
अहिले लाग्छु पनि। आमको राम्रो ख्याल गर्नुहोला।" भनेर बाटा
लाग्छ।शान्ताको परिवारको लागि गाउँभरिमा नकुल त थियो एउटा दु:खमा साथ दिने।
शान्ताका न देवर न जेठाजु- न नन्द न आमाजू कोही थिएनन्। त्यसैले शान्ताका
आमा बुवाले छोरीले सुख पाउँछे धेरैको बुहार्तन खप्नु पर्दैन भनेर अशिमसित
बिहा गरिदिएका रे। आमाबुवालाई आफ्नो काखबाट छोरीलाई पन्छाउन पाए साह्रै
आनन्द। बढेकी छोरी घरमा राख्दा पनि गाउँलेको कुराको बै-बै हुन्छ। कस्तो
संस्कार हो यो? छोरीको त आस्तित्वहिन जिन्दगी। उसको त आफ्नो जिन्दगी नै छैन
अरुको नाउँसित नजोडी। "शान्ता, ए शान्ता!" "हजुर!" "यहाँ मेरो नजिक आ' त।" "किन आमा?" साह्रै
असल थिइन शान्ताकी सासू। अनि शान्ता के छेउमा पुग्छे सासू भन्छिन्, "त्यो
अशिमलाई एउटा चिट्ठी नकुललाई भनेर लेखन लगाएर पठान बा। म त डाँडा पारीकी
घाम। म मरेपछि तेरो बिजोक हुने भयो।" शान्ता आफनो हातले सासूको मुख छोपिदिन्छे, "किन त्यस्त्यो अशुभ बोल्नु भएको नि?" "के गर्छेस् बाबै? यो नै सत्य हो कि सबैले यो संसार छोड्नै पर्छ एक दिन। तेरो मायाले म सधैं तसँग नै कहाँ बस्न पाउछु र बा!" शान्ता
नकुलको घरतिर लागछे। नकुलको घरमा चालचुल थिएन। ढोकामा ताल्चा ठोकेको थियो।
तै पनि शान्ता केही बेर पिंढीमा कुरेर बस्छे। केही बेरपछि नकुल आइपुग्छ। "ए!
शान्ता भाउजू कति खेर आउनु भएको नि?""एकैछिन अगाडि हो बाबु।""अनि आमालाई
अलि सन्चो भयो?""छैन, उस्तै छ। छोराको धेरै चिन्ता लिनुहुन्छ त्यसैले होला।
अनि बाबु म त तपाईंलाई फेरि दु:ख दिन आएकी।""केको दु:ख भाउजू? यो जीवन त
अरुको सेवा कै लागि जन्मेको हो नि। भन्नुस् न मैले के गर्नु पर्यो?" "तपाईंको
दाइलाई एउटा चिट्ठी लेखिदिनुस् न बाबु। आमा साह्रै बिरामी हुनुहुन्छ चाँडै
घरमा आउनू रे भनेर। कतै आमा बिरामीको खबरले घरको याद आउँछ कि!" "हुन्छ
भाउजू तपाईं धेरै चिन्ता नलिनुस्। अर्काको देशमा कहाँ आफूले भनेर सोचेको
जस्तो हुन्छ र भाउजू? केही सारो गाह्रोमा अड्किनु भयो होला नि! नत्र गाउँमा
छँदा त त्यति खराब मान्छे त होइन। अब उहाँलाई शहरको बातावरण्ले नै खराब
बनाएछ भने के जानौं भाउजू।" त्यसपछि नकुल चिट्ठी लेखन तयार हुन्छ।
"दाइ अशिम, म गाउँले भाइ नकुलको
तर्फबाट दुबै हात जोडेर नमस्कारका साथै धेरै सम्झना। दाइ, कि तपाईंले
गाउँघर छोडेदेखि यी पाटी पौवा देउराली त सुन्ने भएकै नै छन्। त्यो भन्दा
पनि तपाईंको घरको हालत धेरै कमजोर छ। तपाईं गएदेखि आमा सधैंको बिरामी।
घरबारी पनि साहुले भाका पुग्यो छोड्नू भनेको भन्यै छ रे। हामी गाउँले सबै
छक्क परेका छौं कि एउटा असल र सिधा गाउँलेको छोरोको मनलाई परदेशले कसरी
धमिलो बनाइदियो। आफ्नी जन्म दिने आमालाई र जन्मभूमिलाई नै चट्टकै भुल्ने
गरी दाइ? ल दाइ आमाको स्वास्थ्य धेरै कम्जोर हुँदैछ। भाउजूको पनि उही हालत
छ। यो चिट्ठी पाउने बित्तिकै घरमा आउनु होला। तपाईंको चिट्ठीको आशमा शान्ता
भाउजूका धेरै दिन र रात बिते, तर तपाईंको चिट्ठी आएन। त्यसैले यो चिट्ठी
लेखेको हो। ल त उही गाउँले भाइ नकुल।"नकुलले चिट्ठी लेखेर शान्तालाई
सुनाउँछ र सोध्छ, "भाउजू ठीक छ?"शान्ता "ठीक छ बाबु" भन्छे र सारीको फेरमा
गाँठो पारेर राखेको चिट्ठी पठाउने पैसा नकुललाई दिन्छे।"बाबु तपाईंले यो
हामीप्रति लगाएको गुण के गरी तिर्ने होला नि?""भाउजू त्यसो नभन्नुस् न।
एउटा मान्छेलाई दु:ख पर्दा अर्को मान्छे काममा आएन भने के गाउँ समाज भएर
बस्नु त?"त्यसपछि शान्ता घर आउँछे। सासू उही सधैंको जस्तो लामो-लामो सास र
खोकीमा रुम्मलिएर मुर्छा परेकी-पर्यै नै छिन्। तातो पानी बेसार राखेर तताएर
शान्ता सासूको छेउमा जान्छे। हातको अाढेस लगाएर उठाएर शिरानीको सपोर्ट
लगाएर राखिदिन्छे। सासू आँखाबाट आँसु झार्दै शान्तालाई हेर्दै भन्छिन्,
"तेरो साह्रै पाप लाग्छ होला मलाई शान्ता।"तिनै शब्दमा रुम्मलिएर केही-बेर
सासू बुहारी रुन्छन्। तर कति रुने? दु:ख त जहाँको त्यहीं नै छ। बिधिको
बिधान र लेखेको लेखन त नभोगी कसैलाई सुखै छैन। सधैंको थला परेर ओछ्यानमा
परेकी सासूले पनि यो पापी संसारबाट मुक्ति पाइन्। तर अशिमको कुनै खबर आएन।
उसलाई न यो धर्तीले खायो न आकाशले निल्यो केही थाहा भएन। सासूको दागबत्ती
पनि शान्ताले नै दिई। गाउँलेको हरेक मुटु छेड्ने बचनलाई पनि सहेर जिन्दगीको
लडाईं लडी शान्ता। तर भनिन्छ कि नारी धर्ती हो। हो नारी साँच्चै धर्ती हो
तर उसको पीडालाई चै सधैं मुल्यहिन बनाइन्छ। सुन्दरताकी खानि हो नारी मायाकी
प्रतिमूर्ती हो नारी। तर असल कामको भागीदार हुनलाई चाहिं धेरै अभागीकी
खानी हो नारी? धेरै दु:खको भाग उसैलाई नै लगाइन्छ, कलङ्कित पनि उसैलाई नै
पारिन्छ। आज शान्ता अशिमको एक त्यान्द्रो पोते र एक चिम्टी सिंदुरमा
बाँधिएर बसेकी छे। तर अशिम आएन। आएन, ऊ फेर्केर आएन। कहिले पनि आएन। गीता थापा (दोषी) इजरायल
|